महिला एसियन कपमा सुखद नतिजा ल्याउने आशा

काठमाडौ‌ (खेलाडी)- नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिपिप्सले टोलीमा अनुभवीका साथै युवा खेलाडीको मिश्रण रहेकाले अर्को महिना उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२२ को छनोट चरणमा सुखद नतिजा ल्याउनेमा आशावादी रहेको बताएका छन् ।

‘पक्कै पनि हाम्रो लक्ष्य एसिया कपमा छनोट हुनु नै हो । तर पनि हामी दिन प्रतिदिन आफ्नो खेल सुधार गर्नेमा केन्द्रित छौं,’ फिलिप्सले भने, ‘विगत तीन साता देखि हामी बन्द प्रशिक्षणमा छौं । खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्न आतुर छन् ।’

प्रतियोगिताका लागि मंगलबार २३ सदस्यीय टोलीको घोषणा हुँदा प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला बिक र निशा थोकर गरी ७ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।

फिलिप्सले जम्मा ३५ खेलाडीबाट अन्तिम २३ खेलाडी छनोट गर्नु पर्दा निक्कै कठिन भएको बताए


 ‘टोलीमा पहिलो पटक स्थान बनाएका खेलाडीले टोलीमा विशेष उर्जा ल्याएका छन् । उनीहरु सबै क्षमतावान छन्,’ फिलिप्सले भने, ‘मैले कप्तान रेणुका नगरकोटी लगातय अन्य सिनियर खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अन्तिम अवसर रहेको बताइसकेँ  । यो समग्रमा नेपाली महिला फुटबल टोलीका लागि चुनौतीसँगै विशेष अवसर पनि हो ।’

फिलिप्सले जम्मा ३५ खेलाडीबाट अन्तिम २३ खेलाडी छनोट गर्नु पर्दा निक्कै कठिन भएको बताए । उनले उज्वेकिस्तान प्रस्थान गर्नु अघि धेरै भन्दा धेरै अभ्यास खेल खेल्न पाए टोलीको प्रदर्शनमा थप सुधार आउने बताए ।
 
‘बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तय भइसकेको छ । भारतले पनि नेपालसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताब गरेको छ । एकदुइ दिनमै भारतविरुद्धको मैत्रीपूर्ण खेलका बारेमा निर्णय हुनेछ,’ फिलिप्सले थपे, ‘हामीले प्रारम्भिक छनोटको क्रममा फिटनेशनमा ध्यान दिएका थियौं । अहिले अन्तिम टोली छनोट भइसकेको छ । अब हामी रणनीतिक खेलमा केन्द्रित हुन्छौं ।’

समूह ‘बी’ अन्तर्गत नेपालले पहिलो खेल असोज २ मा फिलिपिन्ससँग खेल्नेछ भने असोज ५ मा हङकङको सामना गर्नेछ । समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसिया कपका लागि छनोट हुनेछ ।

छनोट चरणका खेलहरु होम एण्ड अवे पद्दतिअनुसार नेपालमा पनि हुने तय थियो । तर कोभिड १९ संक्रमणको जोखिम बढि भएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) ले सेन्ट्रल भेन्युका रुपमा उज्वेकिस्तानलाई नेपाल रहेको समूहको छनोट प्रतियोगिता आयोजनाको अवसर दिएको थियो । 

समूह ‘बी’ अन्तर्गत नेपालले पहिलो खेल असोज २ मा फिलिपिन्ससँग खेल्नेछ भने असोज ५ मा हङकङको सामना गर्नेछ । समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसिया कपका लागि छनोट हुनेछ ।

त्यस्तै कप्तान रेणुका नगरकोटीले पनि युवा तथा अनुभवी खेलाडीको सन्तुलन रहेकाले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताइन् ।
‘टोलीमा केही नयाँ खेलाडी भित्रिएका छन्, जो निकै क्षमता राख्छन्,’ रेणुकाले भनिन्, ‘अनुभवी स्ट्राइकर सावित्रा भण्डारीको अनुपस्थितीले टोली निराशा भैहाल्न पर्छ जस्तो लाग्दैन । एसियन कप छनोट २०२२ हाम्रा लागि आफ्नो क्षमता प्रमाणित गर्ने सुनौलो अवसर हो ।’