ट्वान्टी २० अन्तराष्ट्रिय शृंखला

ट्वान्टी २० शृंखला: युगान्डाविरुद्धको पहिलो खेल आज

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज (सोमबार) पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेल्दैछ । पाँच खेलको शृंखलाका लागि युगान्डाको टिम नेपाल आइसकेको छ ।

अफ्रिकी टिम युगान्डाविरुद्ध मैदान उत्रिँदा नेपाली टिमले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखलाको अनुभव बटुल्ने छ । दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल जितसहित सुरुआत चाहन्छ ।

जगत टमाटाको प्रशिक्षणमा रहेको नेपाली टिमको नेतृत्व रुविना क्षेत्रीले सम्हाल्ने छिन् । शृंखलाको लागि घोषित १६ सदस्यीय नेपाली टिममा केही अनुभवी खेलाडी स्थान पाउँदा नेपाल क्रिकेट संघ (क्यान) ले धेरै युवा खेलाडीरुले मौका दिएको छ । जो आफूलाई प्रमाणित गर्ने अवसरको खोजीमा छन् ।

प्रशिक्षक टमाटाले शृंखलाको लागि घोषणा गरेको १६ सदस्यीय टोलीमा अस्मिना कर्माचार्य र हिरणमयी रोयले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । बागमती प्रदेशको कप्तानी गर्दै आएकी तिव्र गतिकी बलर अस्मिना यसअघि बन्द प्रशिक्षणमा रहे पनि राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएकी हुन् । यता, यु १९ प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी लेग स्पिनर हिरणमयी रोय पहिलो अवसरमै टोलीमा स्थान बनाएकी हुन् ।

यसअघि नेपालले पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला कतारविरुद्ध गत मंसिरमा खेलेको थियो । कतार भ्रमण क्रममा खेलिएको शृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो । हाल नेपाल आइसिसी ट्वान्टी २० वरियतामा १६औं स्थानमा छ भने युगान्डा १९औं स्थानमा छ ।

नेपाल र युगान्डाबीचको खेल सोमबार पहिलो ट्वान्टी २० जेठ ३ मा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौ ७ जेठमा हुने तालिका सार्वजनिक भइसकेको छ । खेलका हेर्न दर्शकलाई मैदान प्रवेश निःशुल्क समेत गरिएको छ ।

नेपाली टोली:

रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता राना मगर, हिरणमयी रोय, बिन्दु रावल ।