स्पेनिस ला लिगा

स्वारेजले एट्लेटिको छोड्दै

मड्रिड । उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले यस सिजनको अन्त्यसँगै स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिड छोड्ने भएका छन् ।

स्वारेज दुई सिजन अघि बार्सिलोनाबाट एट्लेटिको भित्रिएका थिए । यस सिजनको अन्त्यसँगै स्वारेज र एट्लेटिकोबीचको सम्झौता सकिने छ । दुवै पक्ष सम्झौता अन्त्य गर्न सहमत भएका हुन् ।

स्वारेजको उत्कृष्ट प्रदर्शनमा गत सिजन डिएगो सिमोनीको टोलीले ला लिगाको उपाधि जितेको थियो ।जसमा उनले ३२ लिग खेलमा २१ गोल गरेका थिए । 

यस सिजन भने उनले सोही लय कायम राख्न सकेनन् । एट्लेटिकोले सेभियाविरुद्धको खेल नै स्वारेजका साथै हेक्टर हरेराका लागि घरेलु मैदानमा अन्तिम खेल हुने जनाएको थियो । हरेराले मार्चमै सिजनको अन्त्यपछि क्लब छोड्ने बताएका थिए ।

‘सेभियाविरुद्धको खेलपछि वान्डा मेट्रोपोलिटियानोले लुइस स्वारेज र हेक्टर हरेरालाई बदाई गर्नेछ ,जो हाम्रो परिवारबाट यस सिजनको अन्त्यपछि बाहिरिदै छन् । उनीहरुका लागि यो घरेलु मैदानमा अन्तिम खेल हो’, एट्लेटिकोले खेल अघि ट्विट गरेको थियो ।

एट्लेटिकोका अध्यक्ष इनरिके केरेजोले स्वारेजको आगमनमा टोलीले ला लिगाको उपाधि जितेकाले उनको योगदानको सधै कदर गर्ने बताए ।

‘स्वारेज उत्कृष्ट खेलाडी हुन् र उनले टोलीका लागि गरेको योगदान कहिले भुल्ने छैनौ,’ उनले भने ।

केही दिन अघि मात्र स्वारेज पूर्व क्लब बार्सिलोना फर्किन लागेको चर्चा चलेको थियो ।