नेपाली क्रिकेट

जिम्बावेमाथि नेपाल आठ विकेटले विजयी, ट्वान्टी २० शृंखला बराबर

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीचको तीन खेलको ट्वान्टी २० शृंखला १–१ को बराबरीमा टुङ्गिएको छ ।

शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम ट्वान्टी २० खेलमा नेपालले जिम्बावे ‘ए’ लाई आठ विकेटले पराजित गर्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बावेले प्रस्तुत गरेको एक सय ३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्याे ।

नेपालको जितमा ओपनर आसिफ शेखले अर्धशतकीय इनिङ खेले । अविजित ८७ रन बनाएका आसिफले ५४ बलमा १३ चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, अर्का ओपनर कुशल भुर्तेलले ३४ रन बनाउँदा बसिर अहमेद १० रन बनाई आउट भए । क्रिजमा ब्याटिङका लागि आएका दीपेन्द्रसिंह सुन्य रनमा अविजित रहे ।

जिम्बावेका लुक जङ्वे र ब्रान्डन मभुटाले समान एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङमा आएको जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रनको योगफल तयार गरेको थियो ।

जिम्बावेका रोय काइयाले सर्वाधिक ४९ रन बनाएका थिए । अर्धशतकका लागि एक रनले चुकेका काइयाले ४१ बलमा सात चौका प्रहार गरे । यस्तै, तडिवानासे मरुमणिले २७, लुक जङ्वेले २२ र इनोसेन्ट काइयाले १४ रन जोडे । 

नेपालका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । यसबाहेक, बसिर अहमेद र सोमपाल कामीले समान एक एक विकेट लिए । 

तीन ट्वान्टी २० शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो ट्वान्टी २० खेल भने वर्षाका कारण सम्भव हुन सकेको थिएन । दोस्रो खेलमा ४.३ ओभरमा पुग्दा वर्षा भएपछि खेल रोकिएको थियो । जसमा टस हारेर ब्याटिङमा आएको जिम्बावेले दुई विकेट गुमाएर ४८ रन बनाएको थियो ।

ट्वान्टी २० शृंखलासँगै नेपालले जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।