आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

आरबिबी–एनभिए भलिबलः पुरुषतर्फ पुलिसको लगातार तेस्रो जित

काठमाडौं । छैटौं संस्करणको आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

पुलिसले गण्डकीलाई २५–२३, २५–१६ र ३२–३० को सेटमा हराएको हो ।

जितसँगै पुलिसले तीन खेलबाट नौ अंक जोडेको छ । यस्तै, समान खेल खेलेका गण्डकीको भने पाँच अंक छ ।

प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले समान ६ लाख, उपविजेताले तीन  लाख, तेस्रो एक लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन्  ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फको उत्कृष्ट  सेटर, ब्लकर सर्भर, स्पाईकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।