आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

नेपाललाई १६९ रनको लक्ष्य

दुबई । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामू एक सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएकाे युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गर्यो । 

युएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले चार विकेट लिए । नौ ओभर बलिङ गरेका सोमपालले ३९ रन खर्चिए । यसबाहेक, करण केसीले तीन विकेट लिए । उनले ७.३ ओभर बलिङ गर्दा एक मेडनसहित १६ रन खर्चिए । यस्तै, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट हात पारे ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो ।

डिभिजन २ मा नौ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको युएईले १५ खेलबाट १८ अंक जोडेको छ ।