आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

पिएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य

दुबई । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी (पिएनजी) ले नेपालसामू दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रनको योगफल खडा गर्यो ।

पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए ।

शृंखलाको दोस्रो खेल नेपालले मार्च १८ मा युएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल मार्च २१ मा युएईविरुद्ध नै हुनेछ र शृंखलाको अन्तिम खेल मार्च २२ मा पिएजनीविरुद्ध खेल्नेछ ।

नेपाल आठ खेलमा आठ अंकसहित छैटौं स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ । १३ खेल खेलेको पपुवा न्युगिनीले भने अंक खाता खोल्न सकेको छैन ।

त्यस्तै युएई भने १५ खेलमा १८ अंकसहित दोस्रो स्थानमा भने ओमान २८ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा १६ अंक जोड्दै तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका समान १४ अंकसहित चौथो र पाँचौ स्थानमा छ ।