आइसिसी वरियता

आइसिसी वरीयताः ट्वान्टी २० बलिङमा सन्दीप एक स्थान खस्किए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आइसिसी ट्वान्टी २० बलिङ वरीयतामा एक स्थान खस्किएका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप ३७ स्थानमा झरे । यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३६औं स्थानमा थिए ।

यस्तै, नेपाली टोलीका अर्का बलर अविनाश बोहराले भने एक स्थान सुधार गरेका छन् । यसअघि वरीयताको ८२औं स्थानमा रहेका अविनाश ८१औं स्थानमा उक्लिए ।

ट्वान्टी २० बलिङ वरीयताको शीर्ष पाँचमा एकमात्र परिवर्तन भएको छ । वरियताको शीर्ष स्थानमा दक्षिण अफ्रिकी बलर जबरेज साम्सी यथावत् छन् । यस्तै, दोस्रो स्थानमा अस्ट्रेलियाका जस हेजउड, तेस्रोमा इङ्ल्यान्डका आदिल राशिद छन् ।

वरियताको चौथोमा स्थानमा अस्ट्रेलियाका एडम जाम्पा उक्लिएका छन् । उनी यसअघि वरीयताको पाँचौ स्थानमा थिए । यस्तै, वरीयताको पाँचौ स्थानमा भने राशिद खान छन् । राशिद यसअघि चौथो स्थानमा थिए ।