झापा गोल्डकप

झापा गोल्डकपः आर्मी सेमिफाइनलमा, नवयुग र विकाश फर्किए

  • सचिन सुब्बा

झापा । त्रिभुवन आर्मी फुटबल क्लब पाँचौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा भारतीय टाेली मानेभञ्ज्याङ एफसी (एम एफसी), दार्जिलिङलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

यस खेलसँगै आर्मीका फरवार्ड नवयुग श्रेष्ठ र रक्षक विकाश खवासले चाेट पछि पुनरागमन गरेका छन् । नवयुग सहिद स्मारक लिगकाे  प्रि सिजनमा घाइते भएका थिए । यस्तै, विकाश पहिलाे संस्करणकाे नेपाल सुपर लिग (एनएसएल) का दाैरान घाइते भएका थिए । दुबैले दाेस्राे हाफमा मैदान प्रवेश गरे ।

आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकाश तामाङले एक एक गोल गरे । खेलको १०औँ मिनेटमा सन्तोष तामाङको प्रहार गोलमा परिणत भयो । यस्तै, ३५औँ मिनेटमा कप्तान जर्जप्रिन्स कार्कीले आर्मीको अग्रता दोब्बर पारे । उनले २३ यार्ड टाडाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसैगरी खेलको ६८औँ मिनेटमा विकाश तामाङले तेस्रो गोल थपेसँगै आर्मीले ३–० को जित सुनिश्चित गर्यो ।

त्यसअघि खेलको सुरुवाती १९औँ मिनेटमा एम एफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ५२औँ मिनेटमा एम एफसीकै आदर्श तामाङले १८ यार्ड बक्सबाट गरेको हेडर पोष्ट माथिबाट बाहिरियो ।

६५औँ मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले पेनाल्टी बक्सबाट गरेको हेडर बार नजिकैबाट बाहिरियो । ७८औँ मिनेटमा एमएफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन् । ८६औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहर विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए ।

बुधबारको खेलको ‘म्यान अफ दि म्याच’ आर्मीका विकाश तामाङ चुनिए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ पाए ।

बिहीबारको खेल घरेलु टोली झापा ११ र भारतीय टाेली आरपी एफसी, सिक्किमबीच हुने आयोजकले जनाएको छ ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षकले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।