नेपाली फुटबल

यसकारण मछिन्द्रका खेलाडी राष्ट्रिय टाेलीमा परेनन् !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा राष्ट्रिय फुटबल टोलीका ब्यवस्थापक मधुसुदन उपाध्यायले मछिन्द्र फुटबल क्लबले एएफसी कप खेल्ने तालिका रहेका कारण क्लबका खेलाडीलाई राष्ट्रिय टोलीमा नसमेटिएको बताएका छन् ।

‘यो मैत्रीपूर्ण खेल हो । त्यसै कारण मछिन्द्रसँगको सहकार्यमै खेलाडीलाई राष्ट्रिय टोलीमा नराखिएको हो,’ खेलाडीसँगको कुराकानीमा उपाध्यायले भने ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् । जसमा मछिन्द्रका कुनै पनि खेलाडी समावेश छैनन् ।

दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मछिन्द्रबाट सर्बोत्कृष्ट खेलाडी चुनिएका सुनिल बल र उत्कृष्ट गोलरक्षक विशाल श्रेष्ठसहित देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विमल घर्ति मगर र मनिष डांगी र विशाल राई ‘बी’ लाई अलमुताइरीले बाहिर राखेका छन् ।

नेपालले चैत १० गते थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने १३ गते स्थानिय क्लब एफसी चोनबुरीसँग खेल्नेछ । दुबै खेल चोनबुरीमा हुनेछ ।

यता, मछिन्द्रले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्दैछ । मछिन्द्रले चैत २२ गते एएफसी कपको प्रारम्भिक छनोटमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार दशरथ रंगशालामा खेल्दैछ ।

नेपाली टोलीः 
गोलरक्षकः किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दिप कार्की, 

डिफेन्डरः अनन्त तामाङ, नविन गुरुङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, रोहित चन्द

मिडफिल्डरः अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, आयुश घलान, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढामगर, सुबास गुरुङ, तेज तामाङ, जगजित श्रेष्ठ

फरवार्डः आशिष लामा, दर्शन गुरुङ, सुमन लामा