ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

प्रदेश १ ले एपिएफलाई दियो ५८ रनको लक्ष्य

काठमाडौं । ललितपुर मेयर वुमन्स क्रिकेट च्याम्पियनसिपमा प्रदेश १ ले एपिएफ क्लबलाई ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकैट मैदानमा टस जितेर ब्याटिङमा आएको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ५७ रनको योगफल खडा गर्यो ।

प्रदेश १ की सबनम राईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सर्वाधिक १६ रन बनाएकी सबनमले १४ बलमा दुई चौका प्रहार गरिन् । यसबाहेक, प्रदेश १ ले १४ अतिरिक्त रन पाएको थियो ।

एपिएफकी करुणा भन्डारीले सर्वाधिक तीन विकेट लिएन् । चार ओभर बलिङ गरेकी करुणाले तीन मेडन राख्दै मात्र पाँच रन खर्चिइन् । यस्तै, रजमती ऐरीले दुई विकेट लिँदा रेखा रावल र सुमन बिष्टले समान एक विकेट हात पारे ।

मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर मेयर्सलाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिम महिला टोलीले विजयी सुरुआत गरेको थियो ।