सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा पुलिस र एपिएफ बराबर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत १२औं चरणमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारीका खेलको सुरुआती पहिलो मिनेटमै सुमन लामाले गरेको गोलबाट पुलिसले अग्रता लिएको थियो । तर, प्रदीप लामाले ४१औं मिनेटमा गोल गरेपछि एपिएफ बराबरीमा फर्किएको थियो ।

लिगमा ११ खेलबाट १४ अंक जोडेको एपिएफ तालिकाको आठौं स्थानमा छ । एपिएफले तीनमा जित, पाँचमा बराबर र तीनमा हारको नतिजा निकालेको छ ।

यस्तै, समान खेलबाट दुईमा जित, पाँचमा बराबर र चारमा पराजित हुँदै ११ अंक जोडेको पुलिस तालिकाको ११औं स्थानमा छ ।

लिगको १२औं चरणका खेलहरु चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीको टुङ्गो लागिसकेको छ । साविक विजेता मछिन्द्र उपाधि रक्षा गर्दा यसपटक च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ‘बी’ डिभिजनमा घटुवा भए ।