लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

लामा टेन्डी शेर्पा स्मृति बास्केटबल: टाइम्स सेमिफाइनलमा

काठमाडौं । कास्की बास्केटबल संघलाई हराउँदै टाइम्स कलेज मंगलबार लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइम्सले कास्कीलाई ११३–६१ स्कोरको फराकिलो अन्तरमा हरायो । पहिलो, दोस्रो, तेस्रो र चौथो क्वाटरमा नै कास्कीमाथी दबदबा राखेकाे टाइम्सले क्रमशः २६–१०, ३२–१३, २८–१७, २७–२१ को स्कोर गर्यो । टाइम्सको जितमा मविन्द्र क्षेत्रीले सर्वाधिक २० स्कोर गरे ।

प्रतियोगितामा अपराजित टाइम्सले समूह चरणका दुई खेलमा जेभियर इन्टरनेसनल कलेज र रोयल बास्केटबल एकेडेमीलाई क्रमशः ११७–६४, ८३–७८ को स्कोरमा हराउँदै समूह ‘सी’ को विजेता बन्दै क्वार्टरफाइनमा पुगेको हो ।

टाइम्ससँगै पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र रोयल बास्केटबल यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

मंगलबारै हुने महिलातर्फको खेलमा रुपन्देही बास्केटबल संघ र नेपाल पुलिसले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा प्रतिस्पर्धा गर्ने छन् ।