ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

ओमानको पहिलो जित

मस्कट । आइसिसी ट्वाटी २० विश्वकपको ग्लोबल छनोटमा घरेलु टोली ओमानले पहिलो जित निकालेको छ । ओमानले शनिबार क्यानडालाई नौ विकेटले पराजित गर्यो ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा एक सय ५६ रनको लक्ष्य ओमानले १८ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

ओमानका जितमा कप्तान जिसन मक्सुद र ओपनर कश्यप प्रजापतीले अर्धशतकीय इनिङ खेले । मक्सुदले ४४ बलमा ६ चौका र पाँच छक्कासहित ७६ रन बनाउँदा प्रजापतीले ५६ बलमा पाँच चौका र चार छक्कासहित ७४ रन जोडे ।

क्यानडाका साद बिन जफरले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५५ रनको योगफल खडा गरेको थियो ।

क्यानडाका रविन्दरपल सिंहले सर्वाधिक ४६ रन बनाए । उनले ३६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, हम्जा तरिक र डिलोन हेलिगरले समान २१ रन जोड्दा साद बिन जफर २० बनाए ।

ओमानका फयाज बटले दुई विकेट लिए । यसबाहेक, जिसन मक्सुद, कलिमुल्लाह र बिलाल खानले समान एक विकेट लिए ।

छनोटको पहिलो खेलमा क्यानडाले फिलिपिन्समाथि एक सय १८ रनको जित निकाल्दा ओमान भने नेपालसँग ३९ रनले पराजित भएको थियो । शनिबारै भएको अर्को खेलमा नेपालले फिलिपिन्सलाई एक सय ३८ रनले पराजित गरेको थियो ।

जितसँगै दुई अंक जोडेको ओमान तालिकाको तेस्रो स्थानमा छ । यस्तै, समान अंक रहे पनि क्यानडा दोस्रो स्थान छ भने दुई खेलबाट चार अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ ।
ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको ओमान र क्यानडासँगै नेपाल र फिलिपिन्स छन् ।