सहिद स्मारक ‘ए’ डिभिजन लिग

रेफ्रीले हामीविरुद्ध निर्णय दिएः उर्जन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार मछिन्द्र क्लबसँग १–० ले पराजित भएपछि थ्री स्टार क्लबमा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले रेफ्रीले आफूहरुविरुद्ध निर्णय गरेको बताएका छन् ।

‘खेल राम्रो थियो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा राम्रो । बराबरीको नतिजाले नपुग्ने भएकाले अन्तिममा सबै अगाडी बढेर खेल्यौं । मैले पछि हाइलाइट हेर्दा पनि त्यो बल पेनाल्टी जस्तो थिएन,’ उनले भने, ’बलमै कन्टयाक्ट भएको थियो तर रेफ्रीले पेनाल्टी दिए । दोस्रो हाफमा पर्याप्त मौका बनाए पनि सदुपयोग गर्न सकेनौं । रेफ्रीले फउल देखेर पेनाल्टी दिए पनि रिप्ले हेर्दा रेफ्रीले हाम्रोविरुद्ध निर्णय गरेको देखिन्छ ।’

यस्तै, मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले तीन अंक जोड्न सफल भएको खुसी रहेको बताए ।

‘तीन अंक आयो खुसी छु । हाम्रो तीन चार जना खेलाडी थिएनन् । त्यसैले खेल कम्पिटिशनमा गयो । अन्तिममा पेनाल्टी पायौं र जित निकाल्यौं,’ उनले भने ‘बराबरी भएको भए पनि खुसी नै हुन्थे । किनकी हाम्रा चार, पाँच खेलाडी थिएनन् ।’

इन्जरी समयमा पाएकाे पेनाल्टीमा कप्तान सुजल श्रेष्ठले कुनै गल्ती नगरेपछि मछिन्द्र १-० ले विजयी भएकाे थियाे ।