चार देशीय ट्वान्टी२० अन्तर्राष्ट्रिय शृंखला

युएईको लगातार दोस्रो जित

मस्कट । संयुक्त अरब इमिरेटस् (युएई) ले चार देशीय ट्वान्टी२० अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा युएईले आयरल्यान्डलाई १३ रनले पराजित गरेको हो । 

युएईले प्रस्तुत गरेको एक सय ७९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६५ रन मात्र बनायो ।

आयरल्यान्डका लागि कप्तान एन्डे बालबेर्नीले ४२, गारेथ डानिले र कर्टिस जाम्परले समान ४० रनको योगदान गरे । 

एक रन जोड्दा ओपनर पाउल स्टर्लिङलाई गुमाएको आयरल्यान्डको इनिङ दोस्रो विकेटका लागि एन्डे र गारेथले ६४ रनको साझेदारी गर्दै उकासेका थिए । 

एन्डेले २७ बलमा दुई चौका र ३ छक्का प्रहार गर्दा गारेथले २० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।  त्यस्तै चाम्परले ३९ बलमा दुई चौका प्रहार गरे । 

युएईले पहिलो खेलमा शनिबार नेपाललाई २५ रनले पराजित गरेको थियो । युएईको दुई खेलमा चार अंक छ भने दोस्रो स्थानको आयरल्यान्ड र तेस्रो स्थानको नेपालको समान दुई अंक छ । दुवै खेल गुमाएको ओमान चौथो स्थानमा छ ।

यसअघि युएईले टस हारेर ब्याटिङका लागि आएको युएईले रोहन मुस्तफाको ५४ र अरभिन्दको ५० रन मद्दतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७८ रनको योगफल तयार पारेको थियो ।