नेपाल फेन्सिङ्ग संघ

नेपाल फेन्सिङ्ग संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कोभिड १९ को तेस्रो लहरलाई मध्यनजर गर्दै नेपाल फेन्सिङ्ग संघले आफ्नो तेस्रो वार्षिक साधारण सभा शनिबार भर्चुअल रुपमा सम्पन्न गरेको छ ।

साधारण सभाको प्रमुख अतिथिको आतिथ्य नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जिवनराम श्रेष्ठले गरेका थिए ।

सभाका विशेष अतिथि वरिष्ठ खेलकुद पत्रकार रामसुदन तिमिल्सिनाले साधारण सभाको सफलतका लागि शुभकामना दिँदै फेन्सिङ्ग खेलको भविष्य उज्जवल रहेको बताए ।

त्यस्तै, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले फेन्सिङ्ग खेलको बारेमा अझ बढी जनमानसमा जानकारी गराउनु पर्नेमा जोड दिए ।

सभामा फेन्सिङ्ग खेलाडीहरुको तर्फबाट इपी फेन्सर अनिता कार्कीले फेन्सिङ्ग खेलबाट आफ्नो खेल जिवनमा भएको सकरात्मक परिवर्तनका बारेमा जानकारी दिए ।

साधारण सभाका प्रमुख अतिथि माननीय जिवनराम श्रेष्ठले छोटो अवधिमा फेन्सिङ्गले नेपालको खेलकुदमा आफ्नो पहिचान दिन सफल भएको र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागितामा पदकका लागि शुभकामना दिए ।

संघका अध्यक्ष श्री सुनिलकुमार श्रेष्ठज्युले विगतका दिनहरुमा सामान गर्नु परेको कठिनाइका बाबजुद पनि संघले कसरी अघि बढिरहेको छ भन्ने कुरा प्रस्ट पार्दे साधारण सभामा सहभागी सम्पूर्णलाई धन्यवाद दिए ।

साधारण सभामा संघका महासचिव सुजनलाल श्रेष्ठले हालसम्म गरेका कार्यक्रम र गतिविधीको साथै सन् २०२२ को संघको भावी कार्यक्रमहरुको बारेमा जानकारी दिए ।

यस्तै, कोषाध्यक्ष अनुप कपालीज्युले आर्थिक वर्ष २०७७/७८ को संघको आय/व्यय र सन् २०२२ को अनुमानित बजेट प्रस्तुत गरे । साधारण सभाले महासचिव र कोषाध्यक्षको दुवै प्रतिवदेन पास गरेको छ ।