ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार ओमान जाँदैछ । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट खेल्न ओमान जाने १६ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा भइसकेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा दुई नयाँ खेलाडी विवेक यादव र लोकेश बमसमेत समावेश छन् । यस्तै, लामो सयम राष्ट्रिय टोलीबाट बाहिर रहेका जितेन्द्र मुखिया र प्रदीप ऐरीले पनि टोलीमा पुनरागमन गरेका छन् ।

यसबाहेक पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, अविनाश बोहरा, शरद भेसावकर, आरिफ शेख, आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम र कमलसिंह ऐरी टोलीमा छन् ।

नेपालले विश्वकप छनोटअघि शुक्रबार ओमानसँग, शनिबार युएईसँग र सोमबार आयरल्यान्डसँग अभ्यास ट्वान्टी–२० खेल्ने छ । विश्व कप छनोटमा नेपालले ओमान, फिलिपिन्स र क्यानडासँग खेल्ने छ ।