खेलाडी सरुवा

सुललाई भित्र्याउने डर्टमन्डको घोषणा

बर्लिन । जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डले बायर्न म्युनिखका डिफेन्डर निक्लास सुललाई सिजनको अन्त्यपछि क्लब भित्राउने घोषणा गरेको छ ।

जर्मनीका २६ वर्षीय डिफेन्डर सुल बायर्नसँग सम्झौता नविकरण नगरी डर्टमन्डसँग चार वर्षे सम्झौताका लागि सहमत भएका हुन् । सुल र बायर्नबीचको सम्झौता यस सिजनको अन्त्यसँगै समाप्त हुदैछ ।

‘हामी निकोलस सुललाई क्लब भित्राउन पाउँदा निकै खुसी छौं । जर्मन टोलीका खेलाडी सिजनको अन्त्यसँगै फ्रि ट्रान्सफरमा टोलीसँग आवद्द हुनेछन् । सुल र क्लबबीचको सम्झौता चार वर्षसम्मको रहने छ’, डर्टमन्डका खेल निर्देशक मिचेल जोर्कले बताए ।

सुल सन् २०१७ मा होफेनहेमबाट बायर्न अनुबन्धित भएका थिए । त्यसयता उनले क्लबबाट एक सय ५९ खेल खेलिसकेका छन् । जसक्रममा उनले चार बुन्डेसलिगा दुई डिएफबी–पोकल कप र सन् २०१९ २० को च्याम्पियन्स लिगको उपाधि चुमेका छन् ।