आइपिएल

इङ्लिस टेस्ट टिम खेलाडीले आइपिएलका पछिल्ला खेल गुमाउने

लन्डन । इङ्ल्यान्डका टेस्ट खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल) सिजनको पछिल्ला खेलहरु गुमाउने भएका छन् ।

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी)ले न्युजिल्यान्डविरुद्ध हुने तीन खेलको शृंखलाको तयारीका लागि आफ्ना टेस्ट खेलाडीलाई चाँडै बोलाउने भएको छ । यही कारण टेस्ट टोलीमा पर्ने इङ्लिस खेलाडीले आइपिएलका पछिल्ला खेल गमुाउनु पर्ने छ ।

न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखला जुन २ मा इङल्यान्डको घरेलु लर्डस मैदानमा सुरु हुनेछ । आइपिएलको मिति अहिलेसम्म आधिकारिक रुपमा निर्धारण गरिसकिएको छैन । तर प्रतियोगिता मार्च २७ मा सुरु भएर मे को अन्त्यसम्म चल्ने सम्भावना छ ।

आइपिएल सकिएको केही दिनमै लर्डसमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको पहिलो टेस्ट सुरु हुनेछ । इङल्यान्डले घरेलु मैदानमा हुने टेस्टमा प्रभावशाली जितको लक्ष्यसहित केही समयअघिदेखि नै तयारी सुरु गर्ने योजना बनाएकाले टेस्ट खेलाडीले केही खेल गुमाउनु पर्न सक्नेछ । तथापि यसबीचमा इसिबी र भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) बीच छलफल चलिरहेको बताइएको छ ।