बिग बास लिग

हुरिकेन्स पराजित

मेलबर्न । एलेक्स क्यारी र म्याथ्यु सर्टले अर्धशतकीय इनिङ खेलेपछि एडिलेड स्ट्राइकर्सले बिग बास लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको टोली होवर्ट हुरिकेन्सलाई २२ रनले पराजित गरेको छ । यद्यपि, सन्दीप यसअघि नै ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायर्सका लागि नेपाल आउन हुरिकेन्सबाट बाहिरिसकेका छन् ।

स्ट्राइकर्सले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको हुरिकेन्सले १९.४ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ६६ रनमात्र जोड्न सक्यो ।

हुरिकेन्सका डीएर्सी सर्टले अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । सर्टले ३४ बलमा चार चौका र दुई छक्कासहित ५६ रन बनाए । त्यस्तै क्यालेब जेवेलले ३५, टिम डेविडले २१ र पिटर ह्यान्ड्सकम्बले १५ रन जोडे ।

स्ट्राइकर्सका पिटर सिड्लले चार विकेट लिए । ३.४ ओभर बलिङ गरेका सिड्लले ३२ रन खर्चिए । यस्तै हेन्री थ्रोनटोन र ह्यारी कोनवेले समान दुई विकेट लिँदा फवाद अहमेद र म्याथ्यु सर्टले एक एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको स्ट्राइकर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रनको योगफल तयार गरेकोे थियो ।

स्ट्राइकर्सका सर्टले ८९ र क्यारीले ६७ रन बनाएका थिए । यी दुईबीच पहिलो विकेटका लागि एक सय ४५ रनको साझेदारी भएको थियो ।

हुरिकेन्सका रिले मेरेडिथ र टम रोर्जसले समान दुई विकेट हात पारेका थिए । त्यस्तै विल पार्कर र स्कट बोल्यान्डले एक एक विकेट लिएका थिए ।