आहा रारा गोल्डकप

आहारारा गोल्डकपः सडनडेथमा हिमालयन शेर्पालाई पन्छाउँदै पुलिस क्वार्टरफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लबका गोलकिपर रोशन खड्काले प्रशिक्षकबाट पाएको जिम्मेवारी पूरा गरेपछि टोली पोखरामा जारी आहारारा गोल्डकपको क्वार्टरफाइनल पुगेको छ ।

रोशनले विपक्षी हिमालयन शेर्पा क्लबका पूर्णबहादुर गुरुङको प्रहार जोगाउँदै पोखरा रंगशालामा पुलिसलाई सडनडेथसम्म लम्बिएको प्रतिस्पर्धामा जित दिलाएका थिए ।

पोखरा रंगशालामा निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा थप ३० मिनेटले पनि विजेताको टुंगो लगाउन सकेन ।

थप गरिएको समयमा पनि दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जहाँ पाँच पटकको च्याम्पियन पुलिसले बाजी मार्यो ।

पेनाल्टी सुटआउटको पहिलो पाँच/पाँच पेनाल्टीमा ४-४ को बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । जहाँ पुलिसका बुद्ध तामाङ र राम वाजीले सहज गोल गरे भने हिमालयन शेर्पाका जीवन गुरुङले गोल गरे । पूर्णबहादुरले गरेको सडनडेथको दोस्रो प्रहार भने पेनाल्टी सुटआउटकै लागि भनेर अतिरिक्त समयको अन्तिम क्षणमा मैदान छिरेका रोशनले जोगाए ।

पुलिसका लागि पेनाल्टीमा प्रभावकारी रहँदै आएका रोशनलाई प्रशिक्षक अनन्तराज थापाले अतिरिक्त समयको इन्जुरी समयमा मैदान छिराएका थिए । पेनाल्टीमा प्रभावकारी भएकै विश्वासका आधारमा प्रशिक्षक थापाले नियमित गोलकिपर सञ्जिव श्रेष्ठको ठाउँमा रोशनलाई छिराएका थिए ।

यसअघि पुलिसका लागि तीर्थ रानामगर र निरकुमार राईसँगै भेट्रान स्टारहरु सुमन सुवेदी र भोलानाथ सिलवालका प्रहार गोलमा परिणत भएका थिए । कपिल ढकालले प्रहार गरेको चौथो पेनाल्टी पोष्टभन्दा धेरै माथिबाट बाहिरिँदा पुलिस पहिलो पाँच पेनाल्टीमै जित हासिल गर्नबाट चुकेको थियो ।

हिमालयन शेर्पाका लागि उर्लिच सिबेले गरेको पहिलो प्रहार नै पोस्टमा लागेर फर्किँदा पुलिसको सम्भावना बलियो बनेको थियो । तर त्यसपछि त्रिदेव गुरुङ, आशिष गुुरूङ, मुतम्बा पिस्टोन र कप्तान विश्वास श्रेष्ठले लगातार गोल गर्दै खेल सडनडेथसम्म पुर्याएका थिए ।

यसअघि निर्धारित समयमा निरकुमार राईको गोलमा पुलिसले अग्रता लिए पनि हिमालयन शेर्पाका कप्तान विश्वासले खेल बराबरीमा ल्याएका थिए । निरकुमारले ५३औं मिनेटमा गोल गरे पनि पुलिसले त्यो अग्रता लामो समयसम्म जोगाउन सकेन् । त्यसको ६ मिनेट नबित्दै हिमालयन शेर्पाका लागि विश्वासले बराबरी गोल गरे ।