प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: बागमतीसँग ४९ रनले हार्यो लुम्बिनी

काठमाडौं । सुवास खकुरेलको अर्धशतकप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बागमतीका लागि ओपनर सुवासले ५३ बलमा ३ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ खेले ।

सुवासको शानदार प्रदर्शन मद्दतमा बागमतीले लुम्बिनीलाई १ सय १५ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङमा क्रिजमा उत्रिएको लुम्बिनीले १५.४ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्रै जोड्न सक्यो । कप्तान कृष्ण कार्कीले १६ तथा बासिर अहमदले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न नसक्दा लुम्बिनी सस्तैमा समेटियो ।

बागमतीका लागि नन्दन यादवले सर्वाधिक तीन तथा रामनरेश गिरी, सुवाष खत्री र तिलक भण्डारीले २÷२ विकेट लिए ।

पहिलो इनिङमा बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले १९ तथा इशान पान्डेले १३ रनको योगदान गरेका थिए । यस्तै लुम्बिनीका लागि अनिल खरेल र दुर्गेश गुप्ताले समान दुई विकेट लिएका थिए ।