वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट

कोशीविरुद्ध सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको छ ।

लगातार दोस्रो जितसँगै सुदूरपश्चिमले तीन खेलमा चार अंक जोडेको छ । तीनवटै खेलमा पराजित कोशी अंकविहिन छ ।

मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १५१ रन बनायो ।

कोशीका लागि श्रवण यादवले २७ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ४७ रनको योगदान गरे ।  यसैगरी मिनाश थापाले ३४, समिर कार्कीले २२, दीपेश कँडेलले अविजित २१ र भुपाल दंगालले १२ रन बनाए ।

सुदूरपश्चिमका लागि नारायण जोशीले दुई तथा नरेन साउद र बसन्त खत्रीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनको योगफल तयार पार्यो ।

सुदूरपश्चिमका लागि अभिषेक पालले ४१ बलमा पाँच चौका र तीन छक्काको मद्तले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी दीपक बोहराले अविजित ३२ र गजेन्द्र बोहरालाई २९ रन बनाए ।

पहिलो विकेटका लागि अभिषेक र गजेन्द्रले ५९ रनको साझेदारी गरे । कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठ र कप्तान अंकित सुवेदीले समान दुई तथा श्रवण किस्कु र सौजन घिमिरेले समान एक विकेट लिए ।