एल क्लासिको

रियाल र बार्सिलाेना भिड्दै

काठमाडौं । स्पेनिस ला लिगमा आइतबार दुई महराथी रियाल मड्रिड र बार्सिलोना आमने सामने हुँदैछन् ।

एल क्लासिको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा सुरु हुनेछ ।

लिगमा ३२ खेलबाट ७८ अंकका साथ रियाल शीर्ष स्थानमा छ । बार्सिलोना समान खेलबाट ७० अंकका साथ दोस्रो स्थानमा छ ।

ला लिगाका पछिल्ला पाँच खेलमा दुवै टोलीले समान चार जित र एक बराबरीको नतिजा निकालेको छन् ।

रियाललाई जुड बेलिङघम, लुकास भास्क्वेज, भिनिसिय जुनियर, रोड्रिगो जस्ता खेलाडीको साथ रहनेछ । यता बार्सिलोना रोबर्ट लेवान्डोस्की, राफिन्हा, लामिनी यामल, सर्जी रोबर्टो जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

यी दुईबीच हालसम्म २८५ खेल भइसकेका छन् । जसमा बार्सिलोनाले ११८ र रियालले १०५ खेल आफ्नो पक्षमा पारेका छन् । ६२ खेल बराबरीमा सकिएको छ ।

यो सिजनको पहिलो भेटमा रियाल मड्रिड २-१ ले विजयी भएको थियो ।