इन्डियन प्रिमियर लिग

आरसिबीको लगातार पाँचौं हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार पाँच खेलमा हार बेहोरेको छ । सोमबार राति घरेलु टोली सनराइजर्स हैदराबादसँग २५ रनले पराजित भयो ।

खराब लयबाट गुज्रिरहेको आरसिबीको सात खेलबाट मात्र दुई अंक छ । ६ खेलमा हार बेहोरेको आरसिबी दुई अंकसहित तालिकाका पुछारमा छ । आरसिबीले एकमात्रै खेलमा पञ्जावलाई हराएको थियो ।

यता, हैदराबादले भने चौथो जित निकालेको छ । ६ खेलबाट आठ अंक जोडेको हैदराबाद चौथो स्थानमा रहेको छ ।

आइपिएलको ३०औं खेल बेंगलुरुमा हुँदा सुरुवाती ब्याटिङ गरेको हैदराबादले ट्राविस हेडको सतक मद्धतमा तीन विकेट गुमाउँदै दुई सय ८८ को विशाल लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा आरसिबीले सात विकेट गुमाएर मात्र दुई सय ६२ रन बनाउन सक्यो ।

आरसिबीको इनिङ्समा दिनेश कार्तिकले ३५ बलमा आक्रामक ब्याटिङ गर्दै ८३ रन बनाएका थिए । कप्तान फाप डु प्लेसिसले २८ बलमा ६२ रन र विराट कोहलीले २० बलमा ४० रन बनाएका थिए ।

पहिलो विकेटको लागि कप्तान डु प्लेसिस र कोहलीले ३८ बलमा सर्वाधिक ८० रनको साझेदारी गरेका थिए । कार्तिक र अनुज रावतले ६३ रनको साझेदारी गरेका थिए । अनुजले १४ बलमा २५ रन बनाएका हुन् । हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको हैदराबादको लागि अस्ट्रेलियन ब्याटर हेडले ४१ बलमा एक सय २ रन बनाए । उनले ९ चौका र आठ छक्का प्रहार गरेका हुन् । हेन्रिक क्लासेनले ३१ बलमा ६७ रन बनाए । अर्का ओपनर अभिषेक शर्माले ३४, ऐडेन मारक्रमले ३२ र अब्दुल समादले ३७ रनको योगदान गरे ।

पहिलो विकेटको लागि हेड र अभिषेकले ४९ बलमा एक सय ८ रनको साझेदारी गरेका थिए । क्लासेन र मारक्रमले ६६ रनको साझेदारी गरेका हुन् ।