एसिसी प्रिमियर कप

लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल लगातार तेस्रो जितसँगै एक खेल अगावै एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेपालले हङकङविरुद्ध आठ विकेटको जित निकाल्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल समूह‘ए’ को शीर्ष स्थानमा छ । पराजित हङकङ समान खेलबाट दुई अंकका साथ चौथो स्थानमा छ ।  

यसअघि नेपालले मलेसियालाई पाँच विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो । कतारलाई २६ रनले हराएको हङकङ साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२, कप्तान रोहितकुमार पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाए ।

पहिलो विकेटका लागि आसिफ र कुशलले ७० रनको साझेदारी गरे ।  हङकङका लागि एहसान खान र यासिन मुर्ताजाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनको योगफल तयार पार्यो ।

वर्षाका कारण समयमै टस हुन नसकेपछि खेललाई १८ ओभरमा झारिएको थियो । हङकङका लागि अन्शुमन रथले ३४, जिसन अलीले १४, कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए ।

नेपालका अविनाश बोहराले तीन, ललितनाराण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिए ।

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियाको सामना गर्नेछ ।