एसिसी प्रिमियर कप

लगातार तेस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सोमबार हङकङको समाना गर्दा नेपाल लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ ।

खेल ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा बिहान ११ः४५ बजे सुरु हुनेछ । आज हङकङलाई पराजित गर्न सके नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल प्रवेश गर्नेछ ।

यसअघि नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहने नेपाललाई दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, ललितनाराण झा, करण केसी जस्ता खेलाडीले साथ दिनेछन्  ।

यता हङकङ पनि दोस्रो जितको खोजीमा छ । यसअघि कतारलाई २६ रनले पराजित गरेको हङकङ साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

निजाकत खानको कप्तानीमा रहेको हङकङ अन्शुमन रथ, एहसान खान, अ‍ैजाज खान जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

यी दुईबीच हालसम्म नौ अन्तर्राष्ट्रिय ट्वान्टी २० खेल भएका छन् । जसमा दुवै टोलीले समान चार जित हात पार्दा एक खेल विनानतिजा टुंगिएको छ ।

यी दुईबीचको पछिल्लो भेटमा हङकङले ७३ रनको सहज जित निकालेको थियो ।