अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला

इङ्ल्यान्डलाई एक खेल आगवै एकदिवसीय शृंखला

काठमाडौं । इङ्ल्यान्डले घरेलु टोली न्युजिल्यान्डविरुद्धको महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । 

दोस्रो खेलमा इङ्ल्यान्ड ५६ रनले विजयी भयो । जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ ।

ह्यामिल्टनस्थित सेडन पार्कमा बिहीबार इङ्ल्यान्डले प्रस्तुत गरेको २५३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा १९६ रनमा समेटियो ।

न्युजिल्यान्डका लागि ब्रुकी हेलीडेले ९० बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरिन् । यसैगरी इसाबेल गाजीले ४७, सुजी बेट्ले २८, हाना रोवीले १९ र कप्तान एमेलिया केरले १४ रन बनाए । 

पाँचौं विकेटका लागि हेलीडे र गाजीले १०० रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि नटाली क्रिभर ब्रन्टले तीन तथा केट क्रस, लोरेन बेल, सोफी एक्लेस्टोन र चार्ली डिनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५२ रनको योगफल तयार पार्यो ।

इङ्ल्यान्डका लागि तामी बेउमोन्टले ९६ बलमा नौ चौकाको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरिन् । यसैगरी एमी जोन्सले ४८, कप्तान हेदर नाइटले ३७, केट क्रसले अविजित २०, माइया बोउचियरले २० र सोफी एक्लेस्टोनले १४ रन बनाए ।

दोस्रो विकेटका लागि बेउमोन्ट र नाइटले ७० तथा नवौ विकेटका लागि क्रस र जोन्सले ५५ रनको साझेदारी गरे ।  न्युजिल्यान्डका लागि जेस केर, तिया ताहुहु, फरान जोनस र सुजी बेट्सले समान दुई तथा हाना रोवी र एमेलिया केरले समान एक विकेट लिए ।

पहिलो खेलमा इङ्ल्यान्ड चार विकेटले विजयी भएको थियो । शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।