अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने

काठमाडौं । बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुनेछ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  गर्नेछन् ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी नौ खेल समावेश छन्। पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुनेछ ।

प्रतियोगितामा १३६ स्वर्ण, १३६ रजत र १८४ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५४७ खेलाडी सहभागी हुने बताइएको छ ।

शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ । टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन बैशाख १ गते गौरीटार रंगशालामा हुनेछ ।