टेस्ट शृंखला

श्रीलंकालाई बंगलादेशविरुद्धको टेस्ट शृंखला

काठमाडौं । श्रीलंकाले घरेलु टोली बंगलादेशविरुद्धको टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ । चाट्टगाउँस्थित जाहुर महमद चौधरी क्रिकेट मैदानमा दोस्रो तथा अन्तिम टेस्टमा श्रीलंका १९२ रनले विजयी भयो ।

जितसँगै श्रीलंकाले दुई खेलको शृंखला २-० ले आफ्नो पक्षमा पार्यो । पहिलो टेस्टमा श्रीलंका ३२८ रनले विजयी भएको थियो ।

श्रीलंकाले प्रस्तुत गरेको ५११ रनको लक्ष्य पछ्याएको बंगलादेश ३१८ रनमा समेटियो ।

२६८-७ को स्थितीमा पाँचौं दिनको सुरुआत गरेको बंगलादेशले बाँकी तीन विकेट गुमाउँदा ५० रन मात्र थप्न सक्यो ।

बंगलादेशका लागि मेहदी हसन मिराजले ११० बलमा १४ चौकाको मद्दतले अविजित ८१ रनको योगदान गरे । यसैगरी मोमिनुल हकले ५६ बलमा आठ चौका र एक छक्काको मद्दतले ५०, लिटोन दासले ३८, साकिब अल हसनले ३६, महमुदुल्लाह हसन जोयले २४, कप्तान नज्मुल हुसेन शान्टोले २०, जाकिर हसनले १९, शहदात हुसेनले १५ र तैजुल इस्लामले १४ रन बनाए ।

श्रीलंकाका लागि लाहिरु कुमाराले चार, कामिन्दु मेन्डिसले तीन र प्रभात जयसूर्याले दुई विकेट लिए ।

श्रीलंकाले १५७-७ को स्थितीमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि बंगलादेशले ५११ रनको लक्ष्य प्राप्त गरेको थियो ।

दोस्रो इनिङमा श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले ७४ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे । यसैगरी निशान मदुशकाले ३४ र प्रभात जयसूर्याले अविजित २८ रन बनाए ।

बंगलादेशका लागि  हसन महमदले चार, खालिद अहमदले दुई र साकिब अल हसनले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले पहिलो इनिङमा ५३१ रन बनाएको थियो । १७८ रन मात्र बनाउन सकेपछि बंगलादेश पहिलो इनिङमा ३५३ रनले पछि परेको थियो ।