इन्डियन प्रिमियर लिग

गुजरातका कप्तान गिललाई १२ लाख जरिवाना

काठमाडौं । गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १२ लाख भारतीय रुपियाँ जरिवाना लागेको छ ।

मंगलबार राति चेन्नई सुपर किंग्सविरुद्ध स्लो ओभर रेटका कारण गिलमाथि जरिवाना लागेको हो । गुजरातको बलिङ निर्धारित समयभन्दा १ ओभर ढिलो भएको थियो ।

गिलले आइपिएलमा पहिलो पटक कप्तानी गरिरहेका छन् । यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि गिलले गुजरातको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । मंगलबार राति भएको खेलमा भने चेन्नईसँग ६३ रनले पराजित भएको थियो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रन बनायो ।