नेपाली फुटबल

बहराइनविरुद्धको दुई लेगमा पाँच खेलाडीको ‘डेब्यू’

काठमाडौं । एएफसी एसियन कप र फिफा विश्वकपको संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत बहराइनविरुद्धको दुई लेगमा पाँच नयाँ अनुहारले नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका छन् ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार भएको पहिलो लेगमा अभिषेक लिम्बु, सौभाग्य राई, सञ्जीव विष्ट र समीर तामाङलाई ‘डेब्यू’ अवसर दिएका थिए । मंगलबार सम्पन्न दोस्रो लेगमा रक्षक विशाल बस्नेतले पनि पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाए । तीमध्ये सञ्जीवबाहेक अन्यले पहिलाे पटक राष्ट्रिय टाेलीमा स्थान बनाएका थिए । 

नेपाल बहराइनविरुद्ध पहिलो लेगमा ५-० र दोस्रो लेगमा ३-० ले पराजित भयो । याेसँगै नेपालकाे फिफा विश्वकप २०२६ पुग्ने सपना समाप्त भएको छ । नेपालले पहिलो चरणमा लाओसलाई समग्रमा २-१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । नेपाल दोस्रो चरणको  युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो ।

बहराइन प्रस्थान गर्ने नेपाली टोलीमा यसपाली ६ नयाँ अनुहार थिए । त्यस्तै नौ खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव थिएन । अनुभवी खेलाडीहरु धमाधम विदेशको बाटो लागेपछि प्रशिक्षक एनेस नयाँ खेलाडीमा भर पर्नु परेको हो ।

अनुभवी रक्षक रोहित चन्द पारिवारिक समस्याका कारण उपस्थित हुन नपाएपछि बहराइनविरुद्ध एनेसले रक्षक अभिषेकलाई पहिलो रोजाईमै मैदान उतारेका थिए । उनले दुवै खेलमा पुरा समय मैदानमा बिताए । त्यस्तै पहिलो खेलको दोस्रो हाफमा सुमीत श्रेष्ठलाई प्रतिस्थापन गरेका रक्षक सौभाग्यले दोस्रो खेलमा पहिलो रोजाईमै खेले ।

पहिलो खेलमा निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका फरवार्ड सञ्जीवले पनि दोस्रो खेलमा पहिलो रोजाईमा मौका पाए । हिसुब थपलियालाई प्रतिस्थापन गर्दै समीरले पनि पहिलो खेलमा ‘डेब्यू’ गरे । दोस्रो खेलमा भने उनले मौका पाएनन् ।

पहिलो खेलमा बेन्चमै सिमीत रहेका रक्षक विशालले दोस्रो खेलमा छिरिङ लामालाई प्रतिस्थापन गरे ।  एनेसले विशाललाई ८४औं मिनेटमा मैदान उतारेका थिए । 

पहिलो पटक टोलीमा स्थान बनाएका रोहन कार्की र अजय चौधरीले ‘डेब्यू’को अवसर पाएनन् । यसैगरी गोलकिपर अभिषेक बराल र विशाल सुनारले पनि सियिनर टोलीका लागि खेल्न पाएका छैनन् ।