अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला

बंगलादेशविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्विप’

काठमाडौं । घरेलु टोली बंगलादेशविरुद्धको महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलामा अस्ट्रेलियाले ‘क्लिन सिट’ गरेको छ ।

मिरपुरस्थित शेर बंगाल राष्ट्रिय रंगशालामा बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलिया आठ विकेटले विजयी भयो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो ।

बंगलादेशले प्रस्तुत गरेको ९० रनको लक्ष्य अस्ट्रेलियाले १८.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

अस्ट्रेलियाका लागि कप्तान एलिस हेलीले ३३, एलिस पेरीले अविजित २७, बेथ मोनीले अविजित २१ र फोबी लिचफिल्डले १२ रन बनाए ।

बंगलादेशका लागि सुल्तान खातुन र राबिया खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पार्यो ।

बंगलादेशका लागि कप्तान निगर सुल्तानाले १६, मारुफा अख्तरले अविजित १५, सुल्ताना खातुन र शोर्ना अख्तरले समान १० रन बनाए ।

अस्ट्रेलियाका लागि एश्लेग गार्डनर र किम गार्थले समान तीन तथा एलिस पेरी र सोफी मोलिनेयुक्सले समान दुई विकेट लिए ।

यसअघि अस्ट्रेलियाले ११८ रन र ६ विकेटकाे जित निकालेकाे थियाे ।