अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

इङ्ल्यान्डलाई ट्वान्टी २० शृंखला

काठमाडौं । इङ्ल्यान्डले घरेलु टोली न्युजिल्यान्डविरुद्धको महिला अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला आफ्नो पक्षमा पारेको छ । 

वालिङटनस्थित बासिन रिजर्भ क्रिकेट मैदानमा बुधबार चौथो खेलमा इङ्ल्यान्ड ४७ रनले विजयी भयो । 

जितसँगै इङ्ल्यान्डले पाँच खेलको शृंखलामा ३-१ को अग्रता लिएको छ । शृंखलाको पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ । 

इङ्ल्यान्ड्ले प्रस्तुत गरेको १७८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । 

न्युजिल्यान्डका लागि ब्रुकी हेलीडेले २५,बर्नाडाइन बिजुदेनहुटले २३, एमेलिया केरले २१, इसाबेला गाजीले १५ र जेस केरले अविजित १३ रन बनाए । 

इङ्ल्यान्डका लागि चार्ली डिनले चार ओभरमा २६ रन खर्चिदै चार विकेट लिइन् । यसैगरी लोरेन बेल, ड्यानिल गिब्सन र सोफी एक्लेस्टोनको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७७ रनको योगफल तयार पार्यो ।

इङ्ल्यान्डका लागि माइया बाउचियरले ५६ बलमा १२ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ९१ रनको योगदान दिइन् । यसैगरी नटाली स्किभर ब्रन्टले अविजित २९, एसिल काप्सीले २५ र कप्तान हेदर नाइटले अविजित २१ रन बनाए ।

दोस्रो विकेटका लागि बाउचियर र काप्सीले ७५ रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि रोजमेरी मायर, फ्रान्सिस जोनस र एमेलिया केरले समान एक विकेट लिए ।

यसअघि इङ्ल्यान्डले २७ र १५ तथा न्युजिल्यान्डले तीन रनको जित निकालेका थिए ।