ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो ट्वान्टी २० मा नेपाल विजयी

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल ६ विकेटले विजयी भएको छ । 

जितसँगै नेपालले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार आयरल्यान्डले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले ओभरमा १६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा चार चौकाको मद्दतले अविजित ३७रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले अविजित २० र आसिफ शेखले १६ रन बनाए ।

चौथो विकेटका लागि कुशल र सन्दीपले ५४ रनको साझेदारी गरे । आयरल्यान्डका लागि गारेथ डेलानीले दुई तथा थोमस मायस र बेन ह्वाइटले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट विकेट गुमाउँदै १२१ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि स्टेफन डोहिनीले ४९ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरे । यसैगरी थोमस मायस र लियम म्याकर्थीले समान १६ र फियोन ह्यान्डले ११ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल, ललितनारायण राजवंशी र गुल्सन झाले समान दुई तथा करण केसी र कुशल मल्लले सामन एक विकेट लिए ।