आइसिसी

नेपालमा क्रिकेटप्रति सबै जना सकारात्मक पाँएः आइसिसी अध्यक्ष बार्कले

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आइसिसी) का अध्यक्ष ग्रेगल बार्कले नेपाल सरकार र खेलकुद परिषद्का पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद रहेको बताएका छन् ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बार्कले यस्तो प्रतिक्रिया दिएका हुन् । 

‘नेपालको छोटो भ्रमण फलदायी रह्यो । नेपाली क्रिकेटको  बारेमा छलफलका लागि प्रधानमन्त्री, खेलकुद मन्त्री, खेलकुद परिषद् पदाधिकारीसँग भेटघाट भयो। म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’बार्कभने, ‘सबै जना क्रिकेटप्रति सकारात्मक पाएँ । नेपाली क्रिकेटले अझै प्रगति गर्छ भन्नेमा म  विश्वस्त छु ।’

उनले नेपाली क्रिकेटलाई आइसिसीले निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

‘नेपाली क्रिकेटलाई आइसिसीले नजिकैबाट नियाली रहेको छ  । हामी कसरी नेपाली क्रिकेट अगाडि बढ्छ भन्नेमा सघाउँदै आइरहेकै छौं,’ अध्यक्ष बार्कले भने, ‘भविष्यमा पनि आइसिसीले गर्न सक्ने सहकार्यलाई निरन्तरता दिने छ ।’

बार्कलेले नेपालले क्रिकेट पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताए ।  ‘नेपालमा उत्साहजनक समर्थक छन् । तर पूर्वाधारमा धेरै विकास गर्नुपर्ने आवश्यकता छ । पूर्वाधारको विकास गरेमा आइसिसीका द्विपक्षीय शृंखलाहरु गर्न सकिन्छ’, उनले भने ।

यसैगरी नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बार्कलेको नेपाल भ्रमणले आइसिसी नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न इच्छुक रहेको पुष्टि भएको बताए ।

‘नेपालले क्रिकेटमा पछिल्लो समय रिरहेको प्रगती आइसिसीले नजिकैबाट हेरिरहेको छ । त्यसैगरी हामीले आइसिसी अध्यक्षलाई नेपाल ल्याउन आग्रह गरेका थियौं,’ अध्यक्ष चन्दले भने,‘ बार्कले नेपाल आउँदा आइसिसी नेपाली क्रिकेटको विकासका लागि सकारात्मक छ भन्ने सन्देश प्रवाह भएको छ । हामीलाई खेलकुदका संरचनाको विकास र खेलाडीको क्षमता विकासका लागि ऊर्जा मिलेको छ ।’

अध्यक्ष बार्कलेले प्रधानमन्त्री पुष्पकमल दाहालसँगै खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेटघाट गरेका थिए । यसैगरी बार्केले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको भ्रमण गरेका थिए ।

चार दिने भ्रमणका लागि सोमबार नेपाल आएका बार्कले बिहीबार भारतको दिल्ली प्रस्थान गर्ने तालिका छ ।