नेपाली फुटबल

राष्ट्रिय महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

काठमाडौं । साउदी अरेबियामा सम्पन्न वाफ वुमन च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु) ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ ।

टोलीका २३ खेलाडीलाई जनही ४३ हजार ४७८ रुपैयाँ प्रदान गरिएको हो ।
डेढ दशकदेखि साउदी अरेबियमा बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का गुरुङले खेलाडीको उच्च प्रदर्शनको कदर गर्दै प्रोत्साहन स्वरुप उक्त  रकम प्रदान गरेका हुन् ।

 गुरुङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को  सदस्य  पनि रहेकी एन्फा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामामार्फत उक्त रकम उपलब्ध गराएका थिए ।

 एन्फा महिला फुटबल संघका पदाधिकारी लगायतको उपस्थितिमा  गुरुङकी श्रीमति उमा र अध्यक्ष लामाले खेलाडीलाई रकम हस्तान्तरण गरे ।

सोही कार्यक्रममा गुरुङले नै प्रशिक्षक, व्यवस्थापक, अफिसियलसहित आठ जनालाई जनही २० हजार रुपैयाँका दरले उपलब्ध गराएको रकम पनि हस्तान्तरण गरिएको थियो । वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो ।