अन्तर्राष्ट्रिय ट्वान्टी २०

नेपाल हङकङसँग पराजित

काठमाडौं ।  घरेलु टोली हङकङविरुद्धको अन्तर्राष्ट्रिय ट्वान्टी २० मा नेपाल ७३ रनले पराजित भएको छ ।

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा शनिबार हङकङले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रनमा समेटियो ।

नेपालका लागि विनोद भण्डारीले २२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४२ रनको योगदान गरे । यसैगरी आरिफ शेखले ३८ र कप्तान रोहितकुमार पौडेलले ३० रन बनाए।  

दोस्रो विकेटका लागि विनोद र रोहितले ५४ रनको साझेदारी गरे । 

हङकङका लागि यासिम मुर्ताजले ३.४ ओभरमा २६ रन खर्चेर चार विकेट लिए । यसैगरी एहसान खानले तीन तथा अतिक इक्बाल र नस्रुला रानाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रनको योगफल तयार पार्यो ।

हङकङका लागि बाबर हायतले ४९ बलमा  १३ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ११० रनको योगदान गरे । बाबरको अन्तर्राष्ट्रिय ट्वान्टी २० मा यो दोस्रो शतक हो । ५०औं खेल खेलेका बाबरले यसअघि सन् २०१६ मा ओमानविरुद्ध  १२२ रन बनाएका थिए ।

यसैगरी अन्सुमा रथले ३९, मार्टिन कोइटजीले ३१ र एजाज खानले अविजित २१ रन बनाए ।

हायतले पाँचौं विकेटका लागि खानसँग ९५ र दोस्रो विकेटका लागि रथसँग ७६ रनको साझेदारी गरे ।

नेपालका आकाश चन्दले तीन ओभरमा २७ रन खर्चेर तीन विकेट लिए । यही खेलबाट युवा बलर आकाशले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय ट्वान्टी २० मा डेब्यु गरे । यसैगरी आरिफ शेख, प्रतिश जिसी, आकाश चन्दा र रसिद खानले समान एक विकेट हात पारे ।