टेस्ट शृंखला

पाँचौं टेस्टमा भारतको सानदार जित

काठमाडौं । इङ्ल्यान्डविरुद्ध टेस्ट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा घरेलु टोली भारतले एक इनिङ र ६४ रनको सानदार जित निकालेको छ । जितसँगै भारतले शृंखला ४-१ ले आफ्नो पक्षमा पार्यो ।

धर्मशालामा इङ्ल्यान्डले दोस्रो इनिङमा १९५ रन मात्र बनाउन सकेपछि भारत इनिङ अन्तरले विजयी भएको हो ।

इङका लागि जो रुटले १२८ बलमा १२ चौकाको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी, जोनी बेरिस्टाले ३९, टम हार्टलीले २०, ओली पेपले १९ र सोएब बशिरले १३ रन बनाए ।

भारतका लागि रविचन्द्रन आश्विनले पाँच, जसप्रित बुमराह र कुलदीप यादवले समान दुई तथा रविन्द्र जडेजाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्ड पहिलो इनिङमा २१८ रन मा समेटिएको थियो । ४७७ रन बनाउँदै भारतले पहिलो इनिङमा २५९ रनको अग्रता लिएको थियो ।

पहिलो टेस्ट २८ रनले गुमाएको भारत त्यसपछिका तीन टेस्टमा क्रमशः १०६ रन, ४३४ रन  र पाँच विकेटले विजयी भएको थियो ।