एसिसी महिला प्रिमियर कप

कुवेतले दियो नेपाललाई ७४ रनको लक्ष्य

काठमाडौं । एसिसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा कुवेतले नेपालसामू ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७३ रनको योगफल तयार पार्यो । कुवेतका लागि प्रियदा मुरलीले २९ तथा शान्ति बालसुब्रमण्यम र खादिजा खलीलले सामान १३ रन बनाए ।

नेपालका लागि सीता रानामगरले तीन तथा रुबिना क्षेत्री र कविता कुँवरले समान दुई विकेट लिए । सीताले ह्याट्रिक पूरा गरेकी हुन् । उनले १३औं ओभरको प्रियदालाई एलबिडब्लुको धरापमा पारिन् । तेस्रो बलमा मार्याम ओमरलाई विकेटकिपर काजल श्रेष्ठबाट स्टम्पिङ्ग गराइन् । चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबिडब्लु आउट गरिन् ।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।

नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान आठ विकेट तथा माल्दिभ्सलाई २१४ रनले पराजित गरेको थियो । समूह चरणमा सिंगापुरलाई १० विकेट र म्यानमारलाई २७ रने पराजित गरेको कुवेत थाइल्यान्डसँग ९६ रनले स्तब्ध बनेको थियो ।