मनमोहन स्मृति यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा

यु-१६ क्रिकेटः सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौं । आयोजक मनमोहन-११ लाई सात विकेटले स्तब्ध बनाउँदै सुदूरपश्चिम प्रदेशले पोखरामा जारी मनमोहन स्मृति यु-१६ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार मनमोहनले प्रस्तुत गरेको ७० रनको लक्ष्य सुदूरपश्चिमले ९.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि विशाल विष्टले ३३ र निरन्जन गौतमले अविजित १० रन बनाए ।

मनमोहनका लागि नितेश पाटिलले दुई र अजाज खानले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मनामोहन-११ ले २२.४ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनको योगफल तयार पार्यो । मनमोहनका लागि धिरज देउबाले १७ र सुजन रोकायले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि सचिन मल्लले तीन तथा  आशिष शाहु, सचिन भट्ट, निरज ऐर र म्याट्रिक थापाले समान एक विकेट लिए ।