बागमती गोल्डकप सुरु, मछिन्द्रको विजयी सुरुवात

प्रतियोगिताको उद्घाटन गरिँदै

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिकामा मंगलबारबाट बागमती गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करणको सुरु भएको छ ।  बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा मछिन्द्र क्लबले विजयी सुरुवात गरेको छ । बागमती-८ स्थित जनता माविको खेलमैदानमा भएको उद्घाटन खेलमा मछिन्द्रले सर्लाहीको बागमती युथ क्लबलाई ५-२ ले हरायो ।

मछिन्द्रलाई जित दिलाउन हिसुब थपलिया,अभिषेक गुरुङ, क्रिष्टोफर चिजोवा, सौरव लिम्बु र विमल घर्ती मगरले गोल गरे । खेलको ३० सेकेन्डमै हिसुबको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ४३औं मिनेटमा अभिषेकले टोलीको अग्रता दोब्बर बनाए ।

क्रिष्टोफरलेल ५६औं मिनेटमा गोल गर्दा मछिन्द्र ३-० ले अगाडि बढ्यो । ७९औं मिनेटमा सौरवले टोलीका लागि चौथो गोल गरे ।

८१औं मिनेटमा बागमतीका सुजन चौधरीले ले गोल गर्दा खेल ४-१ को स्थितिमा आयो । दुई मिनेटपछि नै सुजन गौतमले गोल बागमतीका लागि दोस्रो गोल गरे ।

निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा विमलले गोल गर्दै मछिन्द्रलाई ५-२ को जित दिलाए ।

मछिन्द्रले क्वार्टरफाइनलमा फागुन ५ गते जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार आयोजक बागमती खेलकुद विकास समिती र ए डिभिजन क्लब हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेतासमेत हो ।

प्रतियोगितामा आयोजक बागमतीसहित तीन मोफसल र ७ वडा ए डिभिजन क्लबहरुको सहभागिता छ ।  प्रतियोगिताको फाइनल खेलमा आगामी फागुन १० गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टहरुले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

बागमती खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बलको उपस्थिती थियो ।