नेपाल क्रिकेट संघ

जनवरीमा अन्तर्राष्ट्रिय शृंखला गराउने प्रयास

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले आउँदो जनवरीमा काठमाडौमा अन्तर्राष्ट्रिय शृंखला आयोजनाको प्रयास थालेको छ ।

क्यानका क्रिकेट निर्देशक विनोद दासले जनवरीमा अन्तर्राष्ट्रिय शृंखलाका लागि विभिन्न देशहरुसँग पत्राचार गरेको बताए ।

दासका अनुसार नेपाली राष्ट्रिय टोलीका लागि लामो समयसम्म आइसिसीको कुनै प्रतियोगिता नभएकाले क्यान आफै शृंखला आयोजनाको तयारीमा जुटेको हो ।

क्यानले आइसिसीका विभिन्न एसोसिएट सदस्य राष्ट्रका क्रिकेट संघलाई शृंखलाका लागि नेपाल भ्रमण गर्न प्रस्ताब गरे पनि अहिलेसम्म कसैले जवाफ पठाएका छैनन् ।

‘हामीले थुप्रै प्रस्ताब पठाएका छौं । तर अहिलेसम्म कुनै पनि बोर्डबाट सकारात्मक जवाफ आएको छैन,’ खेलाडीसँगको कुराकानीमा दासले भने, ‘जनवरीसम्ममा कुनै न कुनै शृंखला काठमाडौंमा गराउन सकिनेमा हामी आशावादी छौं ।’


आइसिसी विश्व क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमान विरुद्ध गत सेप्टेम्बरमा मस्कटमा खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै खेल खेलेको छैन ।

 विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीको तालिकाअनुसार नेपालले अब फेब्रुअरीमा मात्र शृंखला खेल्नेछ ।