एसिसी प्रिमियर कप

फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा शनिबार कुवेतको सामना गर्दा नेपालको लक्ष्य आफ्नो अपराजित यात्रालाई कायमै राख्दै फाइनल प्रवेश गर्ने हुनेछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपाल समूह ‘ए’को विजेता र कुवेत समूह ‘बी’को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

समूह चरणमा नेपालले ओमान, मलेसिया र कतारलाई हराउँदा साउदी अरेबियासँग अंक बाँडेको थियो ।  कुवेतले युएईसँग पराजय ब्यहोरर्दा हङकङ, बहराइन र सिंगापुरलाई हराएको थियो ।

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले २ तथा कुवेतले १ जित निकालेका छन् । 

नेपाल र कुवेतले पहिलो पटक सन् २००८ मा मलेसियामा भएको एसिसी ट्रफी एलिटमा एक अर्काको सामना गरेका थिए । सो खेलमा नेपालले ७ विकेटको  जित निकालेको थियो ।

सन् २०१० मा कुवेतमा नै  भएको एसिसी ट्रफी एलिट अन्तर्गको खेल पनि नेपाल ८ विकेटले जितेको थियो ।  सन् २०१२ मा युएईमा भएको एसिसी ट्रफी एलिटअन्तर्गको पहिल्लो भेटमा भने कुवेत ४ विकेटले विजयी भएको थियो ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा युएई र ओमान आमने सामने हुँदैछन् ।