कुशल र सोमपालमाथि जरिवाना

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग प्राइभेट लिमिटेडले ललितपुर पेट्रियसट्सका कप्तान कुशल भुर्तेलमाथि  इपिएल अन्तर्गत शुक्रबार विराटनगर वारियर्सविरुद्धको खेलमा 'स्लो ओभर' बलिङ गरेको भन्दै जरिवाना गरेको छ । 

अम्यायर मनोहर अधिकारीको सिफारिसमा भुर्तेलमाथि  खेल रकमको १० प्रतिशत तथा बाँकी खेलाडीलाई खेल रकमको दुई प्रतिशत जरिवाना तोकिएको हो ।

ललितपुरले शुक्रबार विराटनगर वारियर्र्स विरुद्ध ३७ रनको जित हात पारेको थियो । ललितपुरले प्रस्तुत गरेको दुई सय २७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकट गुमाउँदै १ सय ८९ रन मात्र बनायो ।

त्यस्तै बिहिबार काठमाडौं किंग्स इलेभन विरुद्धको  खेलमा खेल भावना विपरितको कार्य गरेको भन्दै चितवन टाइगर्सका कप्तान सोमपाल कामीलाई खेल रकमको २५ प्रतिशत जरिवाना सहित एक डिमेरिट प्वाइन्ट दिइएको छ । 

चौधौ ओभरको अन्तिम बलमा  रन खाता नखोल्दै जितेन्द्र मुखियाको बलमा एल्बीडब्लुको शिकार भएपछि सोमपालले ब्याटले प्याडमा प्रहार गदैै अपशक्द प्रयोग गरेका थिए ।