आइसिसी विश्वकप छनोट प्ले अफ

नामिबियाले दियो पिएनजीलाई तीन सय ८२ रनको लक्ष्य

काठमाडौं । कप्तान जेरार्ड इरस्मसको शतकप्रेरित घरेलु टोली नामिबियाले आइसिसी पुरुष विश्वकप छनोट अन्तर्गत प्ले अफको आफ्नो दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) सामू  तीन सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ८१ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि इरस्मसले एक सय १३ बलमा ११ चौका र पाँच छक्काको मद्दतमा  एक सय २५ रन बनाए । यसैगरी  निकोलस डेभिनले ७९ बलमा १३ चौका र एक छक्काको मद्दतमा ९०, लोफ्टी इटनले ५९ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६१, जेन ग्रिनले ३३, कार्ल ब्रिकेनस्टोले अविजित १९, रुवेन ट्रम्पलम्यानले १७ र  पिक्की या फ्रान्सले १३ रन जोडे ।

इरस्मसले तेस्रो विकेटका लागि डेभिनसँग एक सय ५१ तथा चौथो विकेटका लागि इटनसँग एक सय दुई रनको साझेदारी गरेका थिए ।

पिएनजीका लागि सिमो कामियाले पाँच, काबुआ मोरियाले दुई तथा कप्तान असाद भालाले एक विकेट लिए ।

दुवै टोली पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा नामिबिया अमेरिकासँग ८० तथा पिएनजी युएईसँग २१ रनले पराजित भएका थिए ।