साउदी फुटबल

साउदी अरेबियाका मुख्य प्रशिक्षक रेनार्डको राजिनामा

काठमाडौं । सन् २०२७ सम्म साउदी अरेबियाका मुख्य प्रशिक्षकक रूपमा सम्झौता गरेका  हेर्भ रेनार्डले राजीनामा दिएका छन् ।

 रेनार्डले फ्रेन्च महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि राजिनामा दिएको साउदी अरब फुटबल संघले जनाएको छ ।

‘साउदी अरब फुटबल संघको बोर्ड मुख्य प्रशिक्षक हेर्भ रेनार्डको अनुरोधमा उनीसँगको सम्झौता समाप्त गर्न सहमत भएको छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दुई पक्षबीच भएको सम्झौता अन्त्य गर्न कानुनी सहमति भइसकेको छ । हामी उनको उज्वल भविष्य र सफलताको कामना गर्दछौं ।

रेनार्ड सन् २०१९ मा साउदी अरेबियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । 

उनको प्रशिक्षणमा साउदी अरेबियाले कतार विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई २-१ ले स्तब्ध बनाएको थियो । तर पोल्यान्ड र मेक्सिकोसँग पराजित साउदीले समूह चरण भने पार गर्न सकेन ।

रेनार्डले मंगलबार बोलिभियासँग २-१ को मैत्रीपूर्ण खेलमा हार ब्यहोरेपछि सामाजिक सञ्जालमा लेखेका थिए ‘साउदी अरेबियन राष्ट्रिय टोलीको प्रशिक्षक हुनु मेरो लागि ठूलो गर्व हो। मैले टोलीले विश्वकपमा अर्जेन्टिनाविरुद्ध  यो सानदार र अविस्मरणीय जित हासिल गरेको देखेको छु । विश्वलाई साउदी फुटबलको प्रगति र राम्रो छवि देखाउन सक्षम भएकोमा खुसी लागेको छ । ’