ललितपुर मेयर्स कप

ललितपुरमाथि मधेसको रोमाञ्चक जित

काठमाडौं । मधेस प्रदेशले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स-११ माथि एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

यससँगै प्रतियोगितामा पहिलो जित निकालेको मधेसले तीन खेलमा दुई अंक जोड्दा तीनै खेलमा पराजय ब्यहोरेको ललितपुर अंकविहिन छ । मधेसले फाइनल सम्भावनको झिनो आशा कायम राख्दा ललितपुर भने बाहिरिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुरले प्रस्तुत गरेको ९७ रनको लक्ष्य मधेसले १९.२ ओभरमा नौ विकेट गुमाउँदै भेट्टायो ।

मधेसका लागि सरस्वतीकुमारी चौधरीले अविजित ३२, अलिशा यादवले १६ र सीमा कुँवरले १५ रन जोडे ।

ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान दुई तथा कप्तान अस्मिना कर्माचार्य र मनिषा उपाध्यायले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।

ललितपुरका लागि सोनी पाख्रिनले ३४, लक्ष्मी चौधरीले २३ र सृष्टि जैसीले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेसका लागि सरस्वतीकुमारी चौधरीले दुई तथा कप्तान कविता गौतमा, रोजी कदारी र अनुराधा चौधरीले समान एक विकेट लिए ।

मधेसले यसअघि विभागीय टोली नेपाल एपिएफ क्लबसँग १० तथा सुदूरपश्चिम प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।

यसैगरी ललितपुरले सुदूरपश्चिमसँग ५१ रन तथा कोशी प्रदेशसँग सात विकेटको पराजय ब्यहोरेको थियो ।