आइसिसी यु-१९ विश्वकप एसिया छनोट

युएईमाथि रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपमा छनोट

 काठमाडौं । आइसिसी यु-१९ विश्वकप एसिया छनोटको बिहिबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको छ ।

यो जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको छ ।  नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो ।

 यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यु-१९ विश्वकप खेलेको थियो । 

अजमानस्थित इडेन गार्डेन ओभलमा नेपालले प्रस्तुत गरेको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा एक सय ८४ रनमा समेटियो  ।

 नेपाललाई जित दिलाउन दीपेश कँडेलले ४८ औं ओभरको चौथो बलमा हर्षिद सेठलाई बोल्ड , पाँचौ बकलमा हरित सेट्टीलाई कप्तान देव खनालबाट क्याच तथा अन्तिम बलमा मनिष गजेशलाई बोल्ड आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । 

युएईका लागि इथन डिसुजाले ले ६६ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२, अमर बदामीले १९, ध्रुव पराशरले १७ र मारुफ मर्चेन्टले अविजित १२ रन बनाए ।

पहिलो विकेटका सक्सेना र शर्माले ६७ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि दिपेश कँडेलले पाँँच तथा सुवास भण्डारी र हेमन्त धामीले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि देवले ८४ बलमा तीन चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५१ रन जोडे । यसैगरी विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाए ।

देवले चौथो विकेटका लागि उत्तमसँग ८४ रनको साझेदारी गरेका थिए ।

युएईका लागि ध्रुव पराशरले तीन, हरित सेट्टी र कप्तान आयन खानले समान दुई तथा हर्षित सेठ र अमर बदामीले समान एक विकेट लिए ।

  नेपालले छनोटका पाँच वटै खेलमा जित निकाल्यो । नेपालले पहिलो खेलमा सिंगापुलाई ८६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ , तेस्रो खेलमा हङकङलाई ९ र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।